गाउँ फर्कनेलाई एक लाख रुपियाँ



खोटाङ,वैशाख ६ । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो ।

वराहपोखरी गाउँपालिका–६, मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइँसराइ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्षपछि उनीहरू पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएको छ । गाउँ छाडेर जानेको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिनाअघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष शालिकराम बन्जराले वैशाख ४ गते घरमै पुगेर एक लाख रकमको चेक हस्तान्तरण गरेका हुन् ।

आफ्नो जन्मथलोको माया लागेर गाउँ फर्किएको बोदबहादुर खड्काको भनाइ छ । आफ्नो पुरानो जग्गाजमिनमा खेतीपाती लगाएर परिवार चलाउने योजनासहित आफू गाउँ फर्किएको खड्काले बताए । 

गाउँ फर्किनेलाई प्रोत्साहन गर्नका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ बाट एक लाख रुपियाँ रकम दिने नीति लिएको पालिका अध्यक्ष बन्जराले बताए । आफ्नो जग्गाजमिन बिक्री नगरी गाउँ छाडेर जाने धेरै छन् । उनीहरू पुनः गाउँ फर्किन चाहेको हुँदा प्रोत्साहनका लागि गाउँपालिकाले पनि एक लाख रुपियाँ दिने कार्यक्रम ल्याएको उनको भनाइ छ । गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम प्रभावकारी भएमा रकम वृद्धि गर्ने योजना रहेको पालिका अध्यक्ष बन्जराले बताए ।

प्रतिक्रिया दिनुहोस्