शिक्षकका मागबारे सरकार र समितिलाई सभामुखको गम्भीर ध्यानाकर्षण



काठमाडौं,वैशाख २ । आन्दोलनरत शिक्षकका माग सम्बोधनबारे सरकारको तयारी र संसदीय समितिको प्रगतिबारे सभामुखले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र संघीय संसदको शिक्षा समितिको विद्यालय शिक्षा उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग छलफल गरेका छन् ।

भेटमा शिक्षा मन्त्री भट्टराईले शिक्षकसँगको संवादक्रममा मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णयहरू तत्काल लिइरहेको जानकारी दिए । उनका अनुसार संसदको आगामी अधिवेशनको पहिलो साता नै शिक्षा सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी भइरहेको छ। साथै, शिक्षकको सेवा–सुविधा सम्बन्धी विषय अर्थ मन्त्रालयसँग जोडिएकाले उपप्रधान तथा अर्थमन्त्रीसँग पनि छलफल भइसकेको उनले बताए ।

उपसमितिका संयोजक विश्वकर्माले शिक्षा विधेयकका १६३ दफामध्ये हालसम्म ८२ वटा दफामा छलफल सम्पन्न भइसकेको र बाँकी दफामा पनि तोकिएको ३५ दिनभित्र निष्कर्षमा पुगेर प्रतिवेदन पेस गरिने जानकारी दिए ।

सभामुखले शिक्षकका मागप्रति गम्भीर ध्यान दिँदै सरकार र समितिलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्