नुवाकोट आन्दोलन परिचालन समितिद्वारा शिक्षकलाई अनिवार्य माइतीघर उपस्थित हुन आव्हान

नुवाकोट,वैशाख २ । नुवाकोट शिक्षक आन्दोलन परिचालन समितिले जिल्लाका सम्पूर्ण शिक्षकहरूलाई माइतीघर मण्डलामा भैरहेको आन्दोलनमा अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरेको छ।
समितिले एक विज्ञप्ति जारी गर्दै विगत १३ दिनदेखि जारी आन्दोलन काठमाडौंको माइतीघरमा भैरहेकाले जिल्लाका सम्पुर्ण शिक्षक कुनै पनि बहानामा घर तथा कार्यालय नबस्न भनेको छ । विज्ञप्तिमा शिक्षामा देखिएको बेवास्ता, असमानता र शिक्षकका हकहितका मुद्दालाई सम्बोधन गराउन दबाब सिर्जना स्वरुप निरन्तर आन्दोलन भैरहेकाले आन्दोलनमा होमिन सबैलाई अनुरोध गरिएको छ ।
विज्ञप्तिमा हालसम्म आन्दोलनका क्रममा सरकारमार्फत कुनै सार्थक परिणाम प्राप्त हुन नसकेकाले थप सशक्त बनाउन राज्यद्वारा घोषित नयाँ शैक्षिक सत्र २०८२ लाई समेत अवज्ञा गर्ने बताइएको छ ।
जिल्लाका आन्दोलन परिचालन समितिले आजदेखि आफ्नो विद्यालयका सबै शिक्षक कर्मचारीलाई माइतीघर मण्डला क्षेत्रमै हाजिरी गराउन समेत सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई अनुरोध गरेको छ । समितिले आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग र असहयोग गर्ने शिक्षकहरूका सम्पुर्ण क्रियाकलाप सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्न समेत सुझाएको छ ।
