मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

मकवानपुर,चैत ३१ । मकवानपुरमा आज दिउँसो चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मनहरी गाउँपालिका–५, वसन्तपुरमा आज दिउँसो ३ः४० बजेको समयमा चट्याङ लागि मनहरी–५, दरदरा बस्ने अन्दाजी २८ वर्षीय अविरल थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर अविरलका बुवा ५६ वर्षीय सिंह बहादुर थिङ र सानिआमाको छोरा मनहरी–५ डिल्लीपुर बस्ने हिरामान गोलेको छोरा १० वर्षीय सौगात गोले घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । आज दिउँसो आफन्तको घर डिल्लीपुरबाट आफ्नो घर दरदरा तर्फ आउने क्रममा राप्तीखोलाको किनारमा चट्याङ लागेको उनले बताए ।
घाइतेलाई प्रहरी पुग्नुभन्दा पहिले नै स्थानीयहरूले उपचारको लागी चितवन पठाएको र मृतक घटनास्थलमा नै रहेकोले साथै थप अनुसन्धानको लागी टोली खटिएर गएको उनले बताए ।