खेलकुद मन्त्रिले गरे नुवाकोटमा खेल मैदानको शिलान्यास

नुवाकोट,चैत २८। खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको तारकेश्वरमा खेल मैदानको निर्माण सुरु भएको छ । तारकेश्वर गाउँपालिका ३ मा वाघखोर खेल मैदानको बुधवार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शिलान्यास गरेसँगै निर्माण सुरु भएको हो ।
खेल मैदानको निर्माण शुभारम्भ गरिएसँगै शिवालय कप फुटबल प्रतियोगिता कोसमेत उद्घाटन भएको छ । बाघखोर फुटबल मैदानको निर्माणका लागि बजेट उपलव्ध गराइने मन्त्री चौधरीले प्रतिबद्धता जनाए ।
खेलमैदानको शिलान्याससंगै तारुकास्थित शिवालय युवा समाजको आयोजना र तारकेश्वर गापाको प्रवर्द्धनमा सुरु भएको प्रथम शिवालय कप फुटबल प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरे । उनले खेलकुदले मानव जीवनलाई अनुशासित बनाउने बताए ।
मन्त्री चौधरीले तारकेश्वर ३ बाघखोर फुटबल मैदानको शिलान्यास गर्दै मैदान निर्माणका लागि सङ्घीय सरकारबाट उचित बजेट विनियोजन गर्ने बताए । कार्यक्रममा तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बाघखोर खेलमैदानसँगै गापाले तारकेश्वर को जब्बरेचौरमा निर्माण भइरहेको खेलकुद रङ्गशालाका लागि सङ्घीय सरकारबाट यथाशक्य सहयोग उपलब्ध गराउन अनुरोध गरे ।