सरकारको धारणा बुझ्न खोजेका हौँ, वार्ता होइन : अध्यक्ष सुवेदी

काठमाडौं,चैत २८ । विगतमा भएका मागहरू सम्बोधन गरेर तत्काल शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित ९ दिनदेखि काठमाडौँ केन्द्रीत सडक आन्दोलन गरिरहेको नेपाल शिक्षक महासङ्घ तत्काल वार्तामा नजाने बताएको छ ।
सरकारको तर्फबाट वार्ताका लागि आह्वान भएपछि केही विषयबारे प्रस्ट हुन छलफल गर्ने तयारी भने गरिएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।
छलफलका लागि सहअध्यक्ष नानुमया पराजुलीको नेतृत्वमा केही शिक्षक नेताहरूसहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसँग भेट गर्ने तयारी गरिएको उनले बताए ।
अध्यक्ष सुवेदीले आजको छलफल कुनै वार्ता नभएको तर महासङ्घले राखेका मागका विषयमा सरकारको सर्त के हो ? उनीहरूको प्रस्टता के हो ? र कतिपय विषय मन्त्रीपरिषद्बाट पनि निर्णय गर्न मिल्ने छन्, त्यो किन गरिएन भन्ने विषयमा प्रस्ट हुनका लागि मन्त्रालयसँग बस्न लागेको बताए ।
उनले सरकारको प्रस्टता पछि मात्रै वार्ता हुन सक्ने जानकारी दिए । अध्यक्ष सुवेदीले हल्लाको पछि नलाग्न र शसक्त रुपमा आन्दोलनमा सहभागिता जनाउन सबै शिक्षक कर्मचारीलाई अनुरोध गरे ।