राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री ओली

काठमाडौं,चैत २६ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।
पार्टीको सिरहा जिल्लाको ११ औँ अधिवेशनको उद्घाटन सत्रलाई सिरहामा सम्बोधन गर्दै उहाँले देश र जनताको हितबाहेक एमालेसँग अरू कुनै स्वार्थ नभएको बताए । “हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ ।”, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट गर्दै यही चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्र पक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरूका हातमा शासन नजाने र दिन नहुने बताए । “तपाईँहरू ढुक्क हुनुस् । राजतन्त्र कुनै हालतमा फर्कँदैन । एमाले र काँग्रेसजस्ता पुराना र ठुला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ ।”, उनले भने, “यो मजबुद सरकार हो ।”
अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताए ।
कार्यक्रममा जनता समाजवादी पार्टीबाट निर्वाचित धनगढीमाइ नगरपालिका–७ का अध्यक्ष विजयकुमार सिंह, वडा सदस्यहरूसहित तथा अन्य पार्टीबाट समेत गरी करिब पाँच सय जनालाई अध्यक्ष ओलीले प्रवेश गराएका थिए ।
उद्घाटन सत्रमा एमालेका सचिव रघुवीर महासेठ, मधेस प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, मधेस प्रदेशसभाका एमाले संसदीय दलका नेता सरोजकुमार यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशन उद्घाटनअघि प्रधानमन्त्री ओलीले सिरहा बजारमा रहेको सहिद हेमनारायण यादवको शालिकका माल्यार्पण गरेका थिए । यसैगरी प्रधानमन्त्री ओलीले सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको नवनिर्मित सभा मञ्चको पनि उद्घाटन गरे ।