गभर्नर नियुक्तिमा कुनै अनियमितता हुँदैन : मन्त्री गुरुङ

काठमाडौं,चैत २६ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गभर्नर नियुक्तिमा कुनै अनियमितता नहुने बताएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गुरुङले गभर्नर नियुक्तिका सम्बन्धमा बाहिर भएका चर्चा सत्य नभएको भन्दै सरकारले उपयुक्त गभर्नर नियुक्त गर्नेमा शङ्का नगर्न आग्रह गरे ।
मुलुकको अर्थतन्त्रलाई खैरो (ग्रे)सूचीबाट हटाइ आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको भन्दै मन्त्री गुरुङले गभर्नरको नियुक्तिमा सरकारले ढिला नगर्ने स्पष्ट पारे ।
यस्तै हिजो बसेको मन्त्रिपरिषद् बैठकले भागेश्वर गाउँपालिका डडेल्धुराको केन्द्र वडा नं ४ बगर कोटबाट परिवर्तन गरी टप्वा कायम गर्ने, बौद्धनाथ क्षेत्र विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा ललितपुरका मोहनकुमार तामाङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने, नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गर्ने निर्णय गर्नुका साथै विभिन्न अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन मन्त्री स्तरीय प्रतिनिधि टोलीलाई स्वीकृति प्रदान गरेको छ ।