पाथिभरा मन्दिरमा एकै दिन सात हजारले गरे दर्शन



पपाथिभरा,चैत २३ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरमा एकै दिन सात हजार बढीले दर्शन गरेका छन्। शनिबार एकै दिन सात हजार एक सय ४६ जना भक्तजनले पाथिभरा मन्दिरको दर्शन गरेका हुन्। 

दशैँ तिहारपछि शनिबार सबैभन्दा धेरै दर्शनार्थी पाथिभरा मन्दिर पुगेको पाथिभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । 

उनका अनुसार यसअघि दसैँ तिहारको समयमा मात्र यो प्रकारको भीड लागेको थियो। बिहान ३ बजेदेखि नै लाइन लगाएर गराइएको पूजा करिब दिउँसो तीन बजेसम्ममा सकिएको उनले बताए । 

पछिल्लो समय केबुलकार विवादका कारण बन्द हड्ताल भएकाले पाथिभरा मन्दिर आउने दर्शनार्थीको सङ्ख्या कम हुँदै गएको थियो। यसअघि फागुन महिनामा सात हजार ४२८ दर्शनार्थी पाथीभरा मन्दिर पुगेका थिए। 

यस्तै माघ महिनामा भने चार हजार २४९ दर्शनार्थीले मात्र मन्दिरको दर्शन गरेका थिए। तर, शनिबार भने यो सिजनै धेरै दर्शनार्थी पाथिभरा मन्दिर आएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए । उनका अनुसार भोलि रामनवमीका दिन अझ धेरै आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्