नुवाकोटमा होमस्टे पर्यटन प्रवर्द्धन कार्यक्रम



नुवाकोट,चैत २१ । आयआर्जनमा जोड दिँदै होमस्टे अभियानलाई प्रभावकारी बनाउनु पर्ने नुवाकोटमा आयोजित कार्यक्रममा जोड दिइएको छ । होम स्टेले पर्यटन प्रवर्द्धनका साथै स्थानीयवासीको आयआर्जन र स्वरोजगारमा महत्त्वपूर्ण भूमिका रहने भएका कारण नेपालमा यसलाई प्रभावकारी रूपमा  कार्यान्वयन गरिनुपर्ने निष्कर्ष निकालिएको छ ।

नुवाकोटको महत्त्वपूर्ण पर्यटकीय तथा सांस्कृतिक महत्त्व बोकेको सात तले दरबार परिसरमा आयोजित अन्तर्क्रियामा आर्थिक  उन्नति तथा स्थानीय संवृद्धिका लागि होमस्टेलाई प्रमुख अभियानका रूपमा अगाडि लैजानु पर्ने ठहर गरिएको हो ।  बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय र गाउँ पर्यटन  प्रवर्द्धन मञ्चको संयुक्त आयोजनामा सम्पन्न अन्तर्क्रियामा सरोकारवाला पर्यटन व्यवसायी, जनप्रतिनिधिले सो निष्कर्ष निकालेका हुन् ।

नुवाकोट भ्यु सामुदायिक होम स्टेको व्यवस्थापनमा “गन्तव्य  पहिचान प्रवर्द्धन र प्रचार “विषयक अन्तर्क्रियामा  बागमती  प्रदेशको संस्कृति तथा  पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र  सुवेदीले देशको संवृद्धिका लागि पर्यटन मुख्य रहेको र यसमा होमस्टेले योगदान पुर्‍याएको बताए ।  सोही कार्यक्रममा विदुर नपाकी उपमेयर  प्रभा बोगटीले नगरले होमस्टे अर्थात् घर बास कार्यक्रमबाटै स्थानीयवासीको आयआर्जन तथा स्वरोजगारको अभियान सुरु गरेको बताइन ।

कार्यक्रममा होम स्टे  महासंघका सल्लाहकार तथा  पर्यटन बिज्ञ डाक्टर आलोक प्रसाईं, बागमती  प्रदेश  होमस्टे महासंघका उपाध्यक्ष जीतबहादुर  चापागाई,  तारागाउँ बिकास समिति का सदस्य  तथा  पर्यटन  व्यवसायी शिव लामिछाने, गाउँ पर्यटन प्रवर्द्धन  मन्चका अध्यक्ष  सकुन्तला देबकोटा, पर्यटन बिज्ञ तथा टानका पुर्ब अध्यक्षहरु दीपक महत, सुमन पाँडेलगायतले आर्थिक क्षेत्र चलायमान वनाउनका लागि होमस्टेहरुलाई प्राथमिकता दिएर कार्यक्रम सुरुवात गर्नुपर्ने सुझाव दिएका छन् । काठमाडौंसंग जोडिएको नुवाकोट धार्मिक, आर्थिक, सांस्कृतिक रूपमा पर्यटकीय स्थलको रूपमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्