गोरखामा सुनका गहना सफा गर्ने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ



काठमाडौं,चैत २१ । ग्रामीण क्षेत्रमा सुनका गहना सफा गरीदिन्छु भन्दै सुन ठगी गरेको आरोपमा गोरखा प्रहरीले दुई जना भारतीयहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार प्रदेश जदिया सुपौल बस्ने ३२ बर्षका पिन्टु शाह र ४१ बर्षका सन्तोषकुमार शाह भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

पक्राउ परेकाहरुले चैत्र १९ गते सिरानचोक गाउँपालिका–६ को भलाया डाँडामा स्थानीयहरुको सुनका गहना सफा गर्ने बहानामा केमिकल प्रयोग गरी तौल घटाएर दिने गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको सूचना अधिकारी सुवेदीले बताए ।

गोरखा प्रहरीले उनीहरुले प्रयोग गर्ने गरेको विभिन्न प्रकारको केमिकल समेत बरामद गरेको छ । दुवै जनालाई चैत्र २० गते ठगी मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका दुवै जनाले यसअधि पनि यस्तै प्रकृतीको ठगी गरेको प्रमाणहरु फेला पारेको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्