सुन ठगीको आरोपमा नुवाकोट प्रहरीद्वारा तीन जना पक्राउ

नुवाकोट,चैत २१ । सुन ठगीको आरोपमा नुवाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मङ्गलबार विदुर नगरपालिकाको बट्टारमा रहेको एस.एस. गहना पसलमा पहेंलो रङको सुनजस्तो देखिने धातु दिई ६० लाख रुपैयाँ लिएर फरार रहेका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
गहना पसलमा ठगी भएको सूचनापछि हुलियाको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरी टोलीले ककनी गाउँपालिका-५ जाईफल पौवामा रहेको ककनी एग्रो टुरिजम रिसोर्टबाट पक्राउ गरिएको प्रमुख प्रहरी उपरिक्षक दुर्गाराज रेग्मी प्रहरीले जानकारी दिए ।
प्रहरीले उक्त रिसोर्टबाट ठगीमा संलग्न रसुवाको गोसाईकुण्ड गाउँपालिका-६ धुञ्चेका ३६ वर्षीय जितमान तामाङ, सोही स्थानका २१ वर्षीय बुद्वराम तामाङ र आमाछोदिङ्मो गाउँपालिका-१ हाकु घर भई काठमाडौँको टोखा बस्ने ३० वर्षीय ङवाङ दोर्जे तामाङलाई पक्राउ गरेको हो ।अभियुक्तहरुबाट ६० लाख रुपैयाँ नगद सहित दुई थान खुकुरी र वारदातमा प्रयोग भएको दुईवटा मोटरसाईकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।
अभियुक्तहरुलाई ठगी सम्बन्धी कसूरमा नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।