पोखरामा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन सुरु



गण्डकी,चैत १६ । ‘दिगो पर्यटन, नवीनता र आर्थिक विकासका लागि उच्च शिक्षाको भूमिका’ विषयक दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ ।

कालिका बहुमुखी क्याम्पस पोखराद्वारा आयोजित सम्मेलनमा नेपालसहित जापान, बेलायत, बङ्गलादेश, थाइल्याण्ड, अमेरिकालगायत देशबाट विभिन्न ३० वटा विश्वविद्यालय एवं क्याम्पसबाट एक सय ५० जनाको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले आर्थिक विकास र दिगो पर्यटनका लागि उच्च शिक्षाको अहम् भूमिका हुने बताए । उहाँले उच्च शिक्षाको पाठ्यक्रम व्यावसायिकता प्रवर्द्धन र  उत्पादित जनशक्तिको उपयोग हुनेखालको हुनुपर्नेमा जोड दिए । 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा डा महानन्द चालिसेले देशमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश व्यवस्थापन विषयका भएको उल्लेख गर्दै स्वदेशमा नै उनीहरूको उपयोग हुने वातावरण तयार निर्माणको खाँचो औँल्याए ।

कालिका बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । 

क्याम्पस प्रमुख चिरञ्जीवी गौतमले गुणस्तर सुनिश्चित तथा प्रत्यायन(क्युएए)प्राप्त क्याम्पसद्वारा गरिएको यस किसिमको कार्यक्रम पोखराको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको धारणा राखे ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, बैभव पौडेललगायतले पाठ्यक्रम र व्यवसायबीचको तालमेल हुनु जरुरी भएको धारणा राखे ।

ओटिएस एकेडेमी युकेको सह आयोजना एवम् विश्वविद्यालय अनुदान आयोग, व्यवस्थापन सङ्काय त्रिभुवन विश्वविद्यालय, पोखरा महानगरपालिका र केसी ग्रुपको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न प्राध्यापक एवम् अनुसन्धाताका विषयगत प्रस्तुतिसँगै विभिन्न विषयमा समूहगत छलफल रहने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्