पत्रकार हत्या र सञ्चारमाध्यम माथिको आक्रमणविरुद्ध चितवनमा शान्तिपूर्ण विरोध प्रदर्शन

चितवन,चैत १६ । पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरूमाथि आक्रमणको नेपाल पत्रकार महासङ्घ चितवन शाखाले विरोध जनाएको छ ।
राजावादीले शुक्रवार काठमाडौँमा आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकलाई आगजनी भएको घरमा थुनेर हत्या गरिएको थियो । रजकको शव जलेको अवस्थामा फेला परेको थियो । राजावादीहरूले अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यम र पत्रकारहरूमाथि पनि आक्रमण गरेका थिए ।
पत्रकार र सञ्चारमाध्यममाथि राजावादीले निशाना बनाएकोमा पत्रकार महासङ्घको केन्द्रीय सर्कुलर अनुसार चितवनमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो । महासङ्घको स्थापना दिवसको अवसरमा पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी महासङ्घले विरोध कार्यक्रम गरेको हो ।
घटनाको विषयमा पत्रकार महासङ्घ चितवन शाखाको कार्यालयदेखि चौविसकोठीसम्म प्रदर्शन गरिएको थियो । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवम् चितवन शाखाका सल्लाहकार नारायण अधिकारीले घटनाको दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरे ।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका महासचिव एवम् चितवन शाखाका सल्लाहकार राधेश्याम खतिवडाले पत्रकार र सञ्चारमाध्यम माथिको आक्रमण अक्षम्य अपराध भएको बताए ।