तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चारजनाको मृत्यु

दाङ,चैत १५ । तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चारजनाको मृत्यु भएको छ । तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर नजिकै दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चारजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक दुईजनाको भने अझै नाम खुलेको छैन । गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएको उनले बताए । वडाध्यक्ष जिसीका अनुसार दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो । मृतक चारजनालाई घरमा ल्याउने तयारी थालिएको वडाध्यक्ष जिसीले बताए ।