दुई समूहको प्रदर्शन हुँदै : १,८०० ट्राफिक प्रहरीले यसरी गर्नेछन् ट्राफिक व्यवस्थापन



काठमाडौं,चैत १५ । काठमाडौं उपत्यकामा आज विभिन्न राजनीतिक प्रदर्शनका कारण सडकमा सवारी जाम हुने संभावना छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार, आज राजधानीका केही प्रमुख स्थानमा जामको समस्या हुनसक्छ।

प्रदर्शनका कारण काठमाडौंको तीनकुने र भृकुटीमण्डप क्षेत्रमा सवारी जाम हुने अनुमान गरिएको छ। तीनकुनेमा राजावादी समूहको र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूको प्रदर्शन हुने छ।

ट्राफिक व्यवस्थापनको लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइने प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।

प्रदर्शनका कारण रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा बिहानैदेखि सवारी आवागमन प्रभावित हुने देखिन्छ। साथै, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर, र बानेश्वर क्षेत्रमा पनि सवारी जाम हुने अनुमान गरिएको छ।

आवश्यकताअनुसार विभिन्न सडकमा सवारी डाइभर्सन हुने र ट्राफिक प्रहरी पालैपालो खटिने गिरीले बताउनुभयाे । भृकुटीमण्डपमा प्रदर्शन बिहान १२ बजेदेखि र तीनकुनेमा १ बजेदेखि शुरु हुने तय भएको छ।

सवारी जामका कारण यातायातमा असहजता नहोस् भनी ट्राफिक प्रहरीले सडकमा यात्रा गर्ने सबैले अतिरिक्त समय राखी सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्