बुबाले चलाएको ट्रकले किचिदा ४ वर्षीया छोरीको मृत्यु



काभ्रेपलान्चोक,चैत १३ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा बाबुले चलाएको ट्रकले किचेर चार वर्षीया छोरीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सरोज बरालले चलाएको बा ४ ख ८५९२ नम्बरको ट्रकले किच्दा चार वर्षीया छोरी समीक्षा बरालको मृत्यु भएको हो । सिन्धुली गोलन्जोर गाउँपालिका–१ घर भएका बराल परिवारसहित काभ्रेको नालामा बस्दै आएका थिए। बनेपा– ४, त्रिवेणीस्थित शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षा किचिएको हो ।

ट्रकले किच्दा घाइते भएकी बालिकालाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा समिक्षाको मृत्यु भएको हो । ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक सम्पर्कमै रहेकाे प्रहरीले जनाएको छ। बालिकाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्