बाँकेमा आगलागी हुँदा १७ घर गोठ जलेर नष्ट

बाँके,चैत १२ । बाँकेको नरैनापुर गाउँपालिकामा मंगलबार दिउँसो भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन्। नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मंगलबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरगोठ जलेर नष्ट भएको सशस्त्र प्रहरी नायब उपरीक्षक गजेन्द्र चन्दले जानकारी दिए ।
दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए।
खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुस्किल परेको सशस्त्र प्रहरी उपरीक्षक चन्दले बताए । उनले आगलागीका कारण २५ लाख भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको बताए ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत नवराज वली, जिन्सी शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा र विपत शाखा प्रमुख भरत महतो सहितको टोलीले घटनास्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता गरेको छ।
विभिन्न निकायसँगको समन्वयमा आगलागी पीडितका लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताए ।
यसैबीच गाउँपालिकाका अध्यक्ष शाहले यो मौसम हावा हुरीको भएकोले आगलागीको सभावना अत्यधिक रहेको हुँदा सचेत रहन नरैनापुरवासीसँग अपील गरेका छन् ।