पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड वैशाख १३ मा



काठमाडौं,चैत १२ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले आगामी वैशाख १३ गते पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ आयोजना गर्ने भएको छ ।काठमाडौंमा सोमवार पत्रकार सम्मेलन आयोजना गरी एनएफपीजे नेपालले अवार्डबारे जानकारी दिएको हो । 

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा आयोजना गर्न लागिएको उक्त अवार्ड समारोहमा लाइफटाइम एचिभमेन्टसहित १६ विधामा अवार्ड प्रदान गरिनेछ । ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ । 

राष्ट्रिय फोटोपत्रकारिता अवार्डअन्तर्गत ९ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ ।

त्यसैगरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटोपत्रकारलाई सम्मान गरिनेछ ।

अवार्डका लागि यस्तो छ आवेदन प्रक्रिया

फोटो पत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशील फोटोपत्रकारहरूले अनलाइन फारम भरी आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, उत्कृष्ट पाँच फोटो २०७९ वैशाखदेखि २०८१ फागुन मसान्तसम्म खिचिएका १२ वाइ १८ इन्च आकारमा ३०० डीपीआई गुणस्तरमा क्याप्सनसहित पेश गर्नुपर्नेछ । आवेदन फारम २०८१ चैत ३० गते राति १२ बजेभित्र बुझाइसक्नुपर्नेछ ।

निर्णायक मण्डल र मूल्यांकन मापदण्ड

अवार्ड छनोट समिति अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्सुरेन्सका ब्राण्डिङ एण्ड कम्युनिकेशन प्रमुख मेगेन्द्र प्रकाश गिरी, प्राज्ञ वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी र देश सञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनेछन् ।

निर्णायक मण्डलले तस्वीरहरूको प्राविधिक पक्ष, समाचार मूल्य, नैतिकता, सामाजिक–सांस्कृतिक प्रभाव, नवीनता तथा प्रविधिको प्रयोग लगायतका आधारमा मूल्यांकन गर्नेछ ।

पत्रकार सम्मेलनमा एनएफपीजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले २०७३ सालदेखि यो कार्यक्रम शुरु गरेको बताए । राज्यले फोटो पत्रकारहरूको सम्मानको लागि कुनै पनि पुरस्कार तथा सम्मान स्थापना नगरेकाले आफूहरूले यो कार्यक्रम आयोजना गर्नुपरेको उनको भनाइ छ । 

शुरुआती समयमा यो कार्यक्रम वार्षिकरूपमा गरिँदै आएकोमा पछिल्लो समय आर्थिक अभावका कारण दुई वर्षमा एकपटक गर्नुपरेको उनले सुनाए । 

उक्त कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष विकास रौनियार र निर्णायक मण्डलको तर्फवाट वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेलले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा चीनको युनान प्रान्तको युनान कम्यूनिकेसन ग्रुपका चीउहंग वागं र छो युआनयीको पनि उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस्