१३ वर्षीया बालिका बलात्कारको आरोपमा चार जना पक्राउ

इलाम,चैत ११ । बालिका बलात्कार गरेको आरोपमा माइ नगरपालिका २ का २४ वर्षे केशव गिरीलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई ६ गते साँझ फकाइ फुल्याइ माई नगरपालिका २ सितली स्थित चिया बगानमा लगेर बलात्कार गरेको आरोपमा गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
पक्राउ पर्नेमा घटना मिलाउन पिडक पक्षलाई नगद दिने माई नगरपालिका २ बस्ने वर्ष ५८ को केदार नाथ गिरी, सोही स्थान बस्ने बर्ष ४३ को यादव भन्ने नारायण गिरी र सोही स्थान बस्ने वर्ष ३८ को पाँचथरे भन्ने तुलाधर अर्याल रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।
पक्राउ परेका अर्यालले आफ्नो घरमा पीडित पक्षलाई बोलाई तीन लाख रुपैयाँ दिएको खुलेको प्रहरीको भनाइ छ । अनुसन्धानको क्रममा उक्त रकम पीडितकी आमाको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत इलाममा उपस्थित गराई दिन ७ म्याद थप भई जिल्ला प्रहरी कार्यालय इलाममा राखी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।