ट्याङ्करले ठक्कर दिँदा दुई बालकको मृत्यु

बाँके,चैत १० । बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज पानी ट्याङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।
घटनापछि आक्रोशित भएका स्थानीयले टयाङ्करमा आगजनी गरेका छन् । आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ । अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताए ।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउण्ड हवाइ फायर गर्नुपरेको बताए । ‘घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ,’– उनले भने ।