महासंघको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित, यस्तो बन्यो कार्यसमिति



काठमाडौं,चैत १० । नेपाल उद्योग तथा व्यवसायी महाघंसको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित भएका छन् ।महासंघको शनिबार सम्पन्न तेस्रो महाधिवेशनले सापकोटालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

काठमाडौंमा दुई दिनसम्म चलेको उक्त महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

यसैगरी महासंघको उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ चयन भएकी छन् भने महिलातर्फ शोभा गुरुङ सर्वसम्मत रूपमा चयन भएकी छन् । महासंघको महासचिवमा बालकृष्ण शिवाकोटी चयन हुँदा उपमहासचिवमा डिमप्रसाद पौडेल चुनिएका छन्।

यस्तै सचिवहरुमा गोपाल खनाल, रामराजा श्रेष्ठ, डोलनाथ खनाल र सरोज यादव चयन भएका छन् ।

महासंघको तीन आयोगहरूमध्ये लेखातर्फ राजकुमार तिमिल्सिना, निर्वाचनतर्फ टंक राउत र अनुशासनतर्फ बालाराम भट्टराई चयन भएका छन् । उक्त महाधिवेशनले क्षेत्रगत रुपमा ९९ सदस्य केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

नव निर्वाचित अध्यक्ष भागीरथ सापकोटाले महासंघमा नेतृत्व सम्हालनेसँगै देशभरका सम्पूर्ण उद्योग व्यवसायीको हकहितमा काम गर्ने बताए ।

महासंघले अहिले पनि साना तथा मझौला उद्योगी व्यवसायीको हकहितमा काम गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा सबै उद्योगी व्यवसायीले अपनत्व गर्न सक्ने महासंघ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

अहिले नेपालको व्यावसायिक जगत इतिहासमै जटिल र अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको भन्दै सरकारले ‘ईन्टरप्राईजेज अक्सिजन कार्यक्रम’ ल्याउनुपर्ने समेत उनको धारणा छ ।

यद्यपि, भर्खरै मात्र जारी भएका अध्यादेशहरु र त्यसका प्रतिस्थापन विधेयकले केही हदसम्म मल्हम लगाउने काम भएको नवनिर्वाचित अध्यक्षले बताए ।

यो संस्था सत्ताधारी दल नेकपा एमाले सम्बद्ध व्यवसायीहरुको छाता संगठन हो ।

प्रतिक्रिया दिनुहोस्