विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री



काठमाडौं,चैत १० । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले समय परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको बताएका छन्  । राष्ट्रिय युवा सङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘टुुगेदर फर टुमरो : युथ एण्ड द प्राइममिनिस्टर’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, “समस्या छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।” उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको बताए ।

“हामीले थुप्रै मेडिकल कलेज बनायौँ, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौँ । कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन् । त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ”, प्रधानमन्त्री ओलीले भने, “हाम्रा छोरीहरूले विशेषज्ञ चिकित्सक सपना देख्नुभएको छ, त्यो बन्ने प्रतीक्षामा छन् , कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहेका छन् , यो अहिलेको समयको उपलब्धि हो ।” 

प्रधानमन्त्री ओलीले उद्यमशीलताबाट मात्रै रोजगारीका अवसर सिर्जना तथा कृषिको आधुनिकीकरणबाट मात्रै उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिने भएकाले त्यसमा लाग्न आग्रह गरे । “हामी भावनात्मक ढङ्गले चल्नु हुँदैन, अहिले जति पनि समस्या छन्, ती विकासको गतिसँगै आएका हुन् । त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ”, उनले भने । 

कार्यक्रममा चिकित्सा, कानुन, विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बद्ध करिब एक सय ४० युवाको सहभागिता थियो । उनीहरूले आ–आफ्नो क्षेत्रको अवस्था र समस्या राखेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा केन्द्रित भएर ठोस् रुपमा प्रतिवेदन ल्याउन आग्रह गरे । त्यसलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटेर लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्