नेवाः पत्रकार राष्ट्रिय दबूले छ जना पत्रकार पुरस्कृत



भक्तपुर,चैत ९ । नेवाः पत्रकार राष्ट्रिय दबूले छ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

दबूको शनिबार मध्यपुर थिमीमा आयोजित १३ औं साधारण सभामा एक समारोहकाबीच सो पुरस्कार प्रदान गरिएको हो।

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार मेट्रो एफएमका वरिष्ठ सञ्चारकर्मी जुजुमान महर्जनलाई प्रदान गरिएको छ । उनलाई नगद राशि १० हजार रुपैयाँ पुरस्कारसहित दोसल्ला ओढाई र सम्मान पत्रले सम्मान गरिएको छ ।

नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गरेका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्य महास्थविरले स्थापना गरेको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार नेपाल मण्डल टेलिभिजनका सञ्चारकर्मी रामराजा बज्राचार्य प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।

ललितपुर जिल्लामा पहिलो अपाङ्गमैत्री भवन बनाउने कार्यको अग्रसरता लिएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गरेको ज्ञानदेवी– मणीरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कार नेवाःएचडी टेलिभिजनका वरिष्ठ सञ्चारकर्मी नवीन जोशीलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।

देवशोभा कंसाकारद्वारा स्थापित ज्ञानज्योति – लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार जनसञ्चार टेलिभिजनका सञ्चारकर्मी सुरेश सैंजुलाई प्रदान गरिएको थियो।यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी ललितपुरका व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार गोर्खापत्र अनलाईनका फोटोपत्रकार मनोजरत्न शाहीलाई प्रदान गरिएको छ । यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ । विजयराम कर्माचार्यद्वारा स्थापित श्रीरामस्मृति न्हुज पत्रकारिता पुरस्कार चितवनका पत्रकार निशा श्रेष्ठलाई प्रदान गरिएको छ ।

पत्रकारिता क्रियाशील, नेपाल भाषा, संस्कृति, सम्पदा, सञ्चारमाध्यमको समावेशीकरण,आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैगिंक भौगोलिक र लगायत पक्षलाई मध्यनजर गरी सो पुरस्कार प्रदान गरिएको पत्रकार दबूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्