चट्याङ लागेर महिलाको मृत्यु

खोटाङ,चैत ९ । चट्याङ लागेर खोटाङमा एक महिलाको ज्यान गएको छ । जिल्लाको केपिलासगढी गाउँपालिका –७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको चट्याङ लागेर मृत्यु भएको हो ।
शनिबार बिहान घरको आँगनमा राईलाई चट्याङ लागेको स्थानीयको भनाइ छ । विहान करिब ४ बजेको समयमा दिलकुमारीलाई चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
पानी परेर सामान भिज्न थालेपछि उठाउन भन्दै घरको आँगनमा निक्लिएको समयमा दिलकुमारीलाई चट्याङ लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख (डिएसपी) प्रतिक बिष्टले बताए ।
चट्याङ लागेर घटनास्थलमै ज्यान गएपछि स्थानीय जनप्रतिनिधिले शनिबार बिहान ७ः३० बजे प्रहरीलाई खबर गरेका थिए । खबर आएलगत्तै इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी टोली घटनास्थल गएको छ ।
घटनास्थल पुग्न करिब २ घण्टा लाग्ने डिएसपी बिष्टले बताए । आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्लाबाट प्रहरी निरीक्षकको टोली पनि घटनास्थल जाँदै गरेको उनको भनाइ छ । जिल्लाबाट प्रहरी पुगेपछि पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइने बताइएको छ ।