तिलोत्तमा गोल्डकप प्रतियोगिता आजदेखि

रुपन्देही,चैत ९ । झण्डै पाँच दशक पुरानो ईतिहास बोकेको मोफसलको ठूलो पुरस्कार राशीको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता आज देखि बुटवलमा हुँदै छ । तत्कालिन बुटवल नगरपञ्चायतले २०३१ सालमा तिलोत्तमा नदिको नामबाट तिलोत्तमा गोल्डकपको स्थापना गरेको थियो ।
गोल्डकपको स्थापना २०३१ सालमा गरिएपनि प्रतियोगिता भने २०३३ सालदेखि शुरु गरिएको थियो । प्रतियोगिता सुरु भएकै ४८ वर्ष पुरा भएको छ । यो बीचमा २२ वटा संस्करण सम्पन्न भएका छन् भने २३ औं संस्करण सनिवार आज देखि हुँदै छ ।
चैत्र १६ गतेसम्म संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक जिल्ला फुटबल संघ रुपन्देहीले जनाएको छ । प्रतियोगिता हुने बुटवल–११ देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानलाई मर्मत, सरसफाई र रङरोगन गरेर चिटिक्क पारिएको छ ।
खेल मैदान संयोजक बुद्धि गुरुङका अनुसार प्रतियोगिता हुने निश्चित भएपछि विगत तीन महिनादेखि मैदानमा माटो पट्याउने, सम्याउने र निरन्तर पानी राखेर दुबो हरियो बनाउने काम गरिएको छ ।
खेललाई ब्यवस्थित, सुरक्षित र दर्शकको सुविधालाई ध्यानमा राखेर चारैतिर तारजाली लगाईएको छ भने मुल गेट नजिक दर्शकहरुको लागि नमुना शौचालय निर्माण गरिएको छ । गोल्डकप आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा जानकारी दिए ।
प्रतियोगिताको लागि आयोजक रुपन्देही–११ सहित आठवटा टिमले प्रतिष्पर्धा गर्दै छन् । अध्यक्ष पुनका अनुसार दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब र जर्जियन एफसी सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतिस्प्रर्धा गर्दै छन् ।
गोल्डकप स्थापना हुँदा हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने भनिएपनि ४८ वर्षको अवधीमा २३ औं संस्करणको प्रतियोगिता हुँदै छ । पुरस्कार राशी भने हरेक प्रतियोगितामा थप हुँदै गएको छ ।
२३ औं संस्करणसम्म आईपुग्दा गोल्डकप विजेता टिमले उपाधिसँगै १२ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने छ । गोल्डकप प्रतियोगिता अन्तर्गत विधागत उत्कृष्ट खेलाडीहरु गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र कोचलाई जनही ३१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।