भारतीय सेना र नक्सलवादीबीच झडपः एक सैनिकसहित २२ बिद्रोहीको मृत्यु

नयाँदिल्ली,चैत ८ । लामो समयदेखि चलेको विद्रोहलाई दबाउन सरकारले सुरक्षा कारबाही तीव्र पारेपछिको सबैभन्दा घातक झडपमा मध्य भारतको जङ्गलमा कम्तीमा २२ जना माओवादी विद्रोहीको मृत्यु भएको छ ।
भारतको स्रोत साधनले सम्पन्न केन्द्रीय क्षेत्रका सीमान्तकृत मानिसहरूको अधिकारका लागि लडिरहेको दशकौँ लामो ‘नक्सलवादी’ विद्रोहमा एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
छत्तीसगढ राज्यमा दिनभरि चलेको दुई छुट्टाछुट्टै झडपमा एक भारतीय अर्धसैनिक सुरक्षा अधिकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय जनता पार्टीका नेता तथा सङ्घीय गृहमन्त्री अमित शाहले सामाजिक सञ्जाल एक्समा विद्रोही आन्दोलनका लागि साझा भारतीय नाम प्रयोग गर्दै लेखेका छन् , “हाम्रो सुरक्षा बलको दुई छुट्टाछुट्टै कारबाहीमा २२ नक्सलवादी मारिएका छन् ।”
बिजापुर जिल्लामा बिहान सबेरै भएको झडपमा १८ जना लडाकूसमेत २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राज्यको दक्षिणी क्षेत्रमा भएको छुट्टै भिडन्तमा अन्य चार जना विद्रोही मारिएका छन् ।
दुवै युद्धस्थलमा खोजी कार्य जारी रहेको र सुरक्षा बलले दुवै क्षेत्रबाट हातहतियार र गोलाबारुद बरामद गरेको दावी गरेको छ ।
सन् १९६७ मा चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङबाट प्रेरित सशस्त्र अभियान सुरु भएको क्षेत्रमा नक्सलवादी भनेर चिनिने विद्रोहीहरू लामो समयदेखि निरन्तर लड्दै आएका छन् ।
गत वर्ष सुरक्षा फौजको कारबाहीमा करिब २८७ विद्रोही मारिएका थिए जसमध्ये अधिकांश छत्तीसगढमा रहेको सरकारी तथ्याङ्कले देखाएको छ । भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया(पिटिआई) का अनुसार यस वर्ष अहिलेसम्म ८० भन्दा बढी माओवादी मारिएका छन् ।
माओवादीले स्थानीय बासिन्दाका लागि जमिन, रोजगारी र यस क्षेत्रको अथाह प्राकृतिक स्रोतको हिस्सा माग्दै आएको छ ।