धादिङको नीलकण्ठ क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी



धादिङ,चैत ७ । धादिङको जिल्ला सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यालयमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने, क्याम्पस प्रशासन कुनै संगठन वा पार्टीको स्वार्थमा चल्न नहुने, २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको कारण प्रशासनले त्यसलाई मान्यता दिन नहुने लगायतका मागहरु राख्दै तालाबन्दी गरेका हुन् ।

निर्वाचन प्रक्रिया अघि नबढाएको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालयद्वारा जारी स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार चैत ५ गते नै स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने हो । तर क्याम्पस प्रशासनको लापरवाही र नियोजित चलखेलका कारण तोकिएको समयमा निर्वाचन हुन सकेको छैन । क्याम्पस प्रशासनले वेवास्ता गर्दै पुरानै समितिलाई मान्यता दिने गरि संगठनको काम कार्वाहि अगाडि बढाएको उनीहरुको आरोप छ ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका २०६१ को दफा १६ को ४ अनुसार विभुवन विश्वविद्यालय स्ववियु निर्वाचन २०५१ सम्पन्न भएको वा नभएको दुवै अवस्थामा २००९ मा निर्वाचित स्ववियु कार्य समितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त भएको मानिने उल्लेख भएकाले २०७९ सालको स्ववियु निर्वाचनबाट चयन भएको कार्य समिति चैत ४ गते नै स्वतः विघटन भइसकेको कानूनी व्यवस्था छ । तर, क्याम्पस प्रशासनले यसलाई बेवास्ता गर्दै विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार हनन् गर्ने कार्य गरिरहेको छ । कुनै संगठन वा दल विशेषको प्रभावमा प्रशासन सञ्चालन हुनु अत्यन्तै निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

अखिल (क्रान्तिकारी) र अनेरास्ववियु दुवै विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना मागहरू सम्वोधन नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन् । माग पुरा नगरेर विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्