संसद्मा रास्वपाको मागः २५ करोड प्रकरणमा ड्राइभरमात्रै नसमातियोस्, मालिक सार्वजनिक होस्



काठमाडौं,चैत ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले केही दिनअघि काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको र अहिले २५ करोडको पनि मालिक पत्ता नलाग्ने सम्भावना बढेर गएको बताएका हुन् ।

‘२५ करोड रुपैयाँ टोखामा समातियो । विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं । ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो । कहिले पनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन । यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला, ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ । यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरुलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।

साथै, भर्खरै सिन्धुपाल्चोकका ७४० वटा भेपसहितको ट्रक समातिएको र यो भेट नेकपा (एमाले) को पार्टी कार्यालय बनाउन जग्गा दान दिने भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङको रहेको भन्ने जानकारीमा आएको पनि उनले बताए । उक्त भेप प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मान्छेको भएकाले उन्मुक्ति दिन सकिने खतरा रहेको उनको भनाइ छ । उनले भने, ‘भर्खरै सिन्धुपाल्चोकमा समातिएको ट्रक, जसमा ७४० वटा भेप समातियो । भाटभटेनी सुपरमार्केटको भएको भन्ने कुरा खुलिसकेको छ । त्यसलाई राजनीतिक दल र त्यसमा पनि प्रधानमन्त्रीज्यूको पार्टी कार्यालय बनाउने दाता भएको हुनाले त्यसलाई संरक्षण नगरियोस् ।’

प्रतिक्रिया दिनुहोस्