बागमती प्रदेशमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको कार्यारम्भ

मकवानपुर,चैत ७ । बागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोग मार्फत् आयोजना बंैक व्यवस्थापन सूचना प्रणालीको कार्यारम्भ गरेको छ ।
प्रदेश नीति तथा योजना आयोगद्धारा बुधबार आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री बहादुर सिंह लामाले आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका हुन् ।
नीति तथा कार्यक्रमलाई योजनाबद्ध रुपमा अगाडी बढाउनका लागि योजनाहरुको पहिचान, छनोट तथा प्राथमिकीकरण गर्ने उद्देश्यले प्रणालीको सुभारम्भ गरिएको मुख्यमन्त्री लामाले बताए ।
आयोजना बैंकको सुभारम्भसँगै बजेट कार्यान्वयनलाई व्यवस्थित गर्न सकिने मुख्यमन्त्रीको विश्वास रहेको छ । आयोगले निर्धारण गरेको मापदण्डका आधारमा योजनाहरु प्रणालीमा प्रविष्ट हुने भएकाले टुक्रे योजना र खल्तीबाट योजना हाल्ने प्रवृतिको अन्त्यका लागि योजना बैंक प्रभावकारी बन्ने मुख्यमन्त्रीको दाबी छ ।
मुख्यमन्त्री लामाले योजना बैंक मार्फत् प्रदेशको सबै निर्वाचन क्षेत्रमा योजना समावेश गरिने भएकोले भ्रष्टचार पनि कम हुनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले योजना छनौटदेखि मूल्यांकन र प्रभावकारिताका विषयमा बढ्दो जन गुनासोलाई सम्बोधन गर्न लागि योजना बैंकको अवधारणा ल्याइएको बताए । योजना बैंकको अभावमा विगतमा देखिएको समस्या हल गर्ने उद्देश्यले योजना बैंक सञ्चालनमा ल्याइएको उनको भनाई छ ।
मन्त्री काफ्लेले प्रदेश सरकारको लगानी सञ्चालित मेगा प्रोजेक्टका साथै अन्य आयोजनाको प्रभावकारिताको विषयमा अध्ययन भैरहेको समेत बताए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले आयोगबाट निर्धारित मापदण्ड अनुसार प्रणालीमा प्रविष्ट भएका योजनाको मूल्याङ्कन तथा प्राथमिकीकरण गरिने बताए ।
७५ अंक वा सोभन्दा माथिको योजना पहिलो प्राथमिकता र सो भन्दा कम अंकको योजनालाई दोस्रोमा राखेर सोही अनुसार बजेट विनियोजन हुनेछ । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यहरुले योजना बैंक कार्यान्वयनमा भने आशंका रहेको बताए ।