२५ करोड अवैध रकम बरामद प्रकरण: प्रभावकारी छानविन गरी दोषीलाई कारबाही गर्न सांसदहरूको माग



काठमाडौं,चैत ६ । प्रतिनिधि सभाको आजको बैठकमा सासदहरुले काठमाडौँको टोखाबाट ट्रकमा राखिएको करिब २५ करोड बराबरको डलर र युरो जफत भएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाको गम्भीरतापूर्वक छानविन र अनुसन्धान गर्न माग गरेका छन् ।   

सांसद माधव सापकोटा, रोषन कार्की र रामहरि खतिवडाले बैठकको आकस्मिक समयमा ट्रकबाट करिब २५ करोड बरावरको रकम बरामद भएको र यस्ता घटनामा ड्राइभर र भरिया मात्रै समातिने तर अनुसन्धान मुख्य दोषीसम्म नपुग्ने गरेको भन्दै अनुसन्धान प्रभावकारी बनाउन माग गरे ।

सांसदहरु हेमराज राई र रामकुमार राईले खोटाङलगायत देशका विभिन्न भागमा आगलागी हुँदा धेरै जनधानको क्षति भइरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई राहत र उपचारको व्यवस्था गर्न माग गरे । 

उनीहरूले आगलागी नियन्त्रण र रोकथामका लागि समयमा नै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।सांसद सुमना श्रेष्ठले सरकार शिक्षा क्षेत्रप्रति गम्भीर बन्न नसकेको भन्दै एसइई को परीक्षाको विषयमा मधेश प्रदेशले उठाएको गोला प्रथाबाट केन्द्राध्यक्ष राख्ने मागमा सरकारले सहयोग नगरेको आरोप लगाइन् ।   

रामकृष्ण यादव र मुक्ता कुमारी यादवले धनुषा जिल्लाको सवैला नगरपालिका वडा नम्बर ९ मा चैत ४ गत चोकको नाम राख्ने विषयमा विवाद हुँदा उत्पन्न परिस्थितिबारे जानकारी गराउँदै प्रहरीको गोली लागि घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे ।

बैठकमा नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले चैत ३ गते सभाको विशेष समयमा बोलेको कुरालाई लिएर आलोचना बढेपछि आज सदनबाटै माफी मागे । 

सांसद घिमिरेले सदनमा बोलेको विषय आफ्नो व्यक्तिगत धारणा भएको भन्दै त्यसका पार्टीको र दलको आधिकारिक धारणा नभएको समेत स्पष्ट पारे । उनले देशमा यौन व्यवसाय खुला गर्नुपर्ने तर्क गरेका थिए । 

बैठकमा सांसदहरुले सडक पूर्वाधार निर्माणमा ढिलाइ हुँदा देशका विभिन्न भागमा आम नागरिक समस्यामा परिरहेको, विकास निर्माणका कामहरू समयमा नै नहुने गरेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्