‘एसइईलाई व्यवस्थित र मर्यादित बनाउन गृहकार्य भएको छ’

काठमाडौं,चैत ५ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीवारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छिन् । मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले यस्तो बताएकी हुन् ।
उनले एसइई परीक्षालाई व्यवस्थित गर्न परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड लगायतका निकायहरुको नियमितजसो बैठक बसिरहेको बताइन । उनले परीक्षा अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृह मन्त्रालयसँग अनुरोध गरेको समेत बताइन । उनले परीक्षा केन्द्रमा प्रहरी परिचालन गरेर विद्यार्थीहरुमा डर र त्रास पैदा गर्नुभन्दा व्यवस्थित रुपमा परिक्षा सञ्चालन गर्न सामथ्र्यवान छौं भन्ने प्रमाणित गर्न प्रत्येक परीक्षा केन्द्रहरुलाई निर्देशन दिइएको समेत बताइन् ।
उनले भनिन, ‘अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) को सन्दर्भमा धेरै कुराहरु उठिरहेका छन् । अब एसईईलाई व्यवस्थित बनाएर जाउँ भन्ने सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड लगायतका सरोकारवालाका बैठक लगातार बसिरहेका छन् । एसईई परीक्षाको सुरक्षाको लागि पनि परीक्षा बोर्डले गृह मन्त्रालयसँग अनुरोध गरेको छ ।’
विद्यार्थीले गर्न हुने र गर्न नहुने कामको कोड अफ कन्डक्ट बनाइएको पनि उनले बताइन । त्यसलाई मर्यादित हिसाबले गर्न परीक्षास्थलमा खटिने सबैले मर्यादित हुँदा विद्यार्थीलाई अनुशासित हुन अप्ठेरो नपर्ने उनको भनाइ छ । एसईई संघीयताभित्रको भएको हुनाले एसइईलाई प्रदेशमा हस्तान्तरण गर्ने नीति ल्याउन अपरिहार्य रहेको मन्त्री भट्टराईको भनाइ छ ।