सप्तरीमा भीषण आगलागीबाट १३ घर जलेर नष्ट

सप्तरी,चैत ५ । सप्तरीको छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका–४ लालापटीमा मङ्गलवार बिहान आगलागीमा भएको हो । बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीबाट घर, गोठसहित सरसामान जलेर नष्ट भएको छ, भने चौपायासमेत मरेका छन् ।
स्थानीय देव नारायण पण्डितको दुई वटा घर, रामेश्वर पण्डितको घर र गाई गोठ, भान्सा घर र जुगेश्वर पण्डितको घर र गोठ जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर,भाँडा, मोबाइल, सुन चाँदीसमेत जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । आगलागीमा दुई वटा खसी र एउटा भैँसी जलेर मरेको छ ।
यसै गरी सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ मा सोमबार साँझ आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएका छन् । स्थानीय दुबीलाल यादवको गोठ घरबाट विद्युत्को तार सर्ट भएर आगलागी हुँदा यादवको दुई वटा गोठ घर, एउटा भान्सा र एउटा बस्ने घर गरी चार वटा र छिमेकी सुरेश शर्माको एउटा घर र फर्निचर तथा फर्निचरमा रहेको काठ जलेर नष्ट भएको छ ।
राजविराज नगरपालिका र प्रहरी तालिम केन्द्रबाट आएका दुई वटा वारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।