ताप्लेजुङ केबलकार: सङ्घर्ष समितिलाई वार्ताका लागि पुन: आह्वान 



ताप्लेजुङ,चैत १ । ताप्लेजुङमा केबलकार निर्माणको विरुद्धमा रहेका आन्दोलनरत पक्षलाई सरकारले पुनः वार्ताका लागि आह्वान गरेको छ ।

गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई सम्बोधन गरी आज (शुक्रबार)वार्ताका लागि आह्वान गरेको हो ।

वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईद्वारा हस्ताक्षरित पत्रमा समस्याको वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण समाधानका लागि आन्दोलनरत पक्षका दुई सङ्घर्ष समितिलाई आह्वान गरेको हो । 

मन्त्रालयले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक,धार्मिक,सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागहरूका सन्दर्भमा स्थानीय सरोकारवालासँग वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेको छ  ।

सरकार र आन्दोलनरत पक्षबिच गत माघ २२ गते पहिलो पटक वार्ता भएको थियो । त्यस पछि पनि मन्त्रालयले आन्दोलनरत पक्षसँग निरन्तर रुपमा वार्ता र संवाद भइरहेको समेत पत्रमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्