नेपाल युगाण्डासँग ४० रनले पराजित



काठमाडौ,चैत १ । युगान्डामा जारी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ खेलमा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको छ ।

यो पराजयसँगै खेलेका पाँच मध्ये चार खेल हारेको नेपालको प्रतियोगिताको फाइनलमा पुग्ने संभावना सकिएको छ ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा आज जितका लागि ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर १ बलमा सबै विकेटको क्षतिमा जम्मा ५१ रनमा समेटियो ।

नेपालका लागि कविता जोशीले १२, कप्तान इन्दु बर्माले ११, अलिसा यादवले ९ र पुजा महतोले ७ रन बनाए । पाँचजना खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९१ रन बनाएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा युगान्डालाई एक विकेटले हराएको थियो । यो बाहेक नेपाल नामिवियासँग भएका दुबै खेलमा र चाइना हङकङसँग भएको एक खेलमा पराजित भइसकेको छ ।

अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेलमा चाइना हङकङसँग दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्