शिक्षक महासंघद्वारा थप आन्दोलनको घोषणा, चैत २० देखि विद्यालय ठप्प पारी काठमाडौमा उत्रने



काठमाडौ,फागुन २६ । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्न दबाब दिने उद्देश्यले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको जनाएको हो ।

महासंघले ऐनमा शिक्षक तथा विद्यालय कर्मचारीका मागहरू समेट्नुपर्ने बताउँदै सरकारको उदासीनताका कारण बाध्य भएर संघर्षको कार्यक्रम अघि सारिएको जनाएको छ।

महासंघले विज्ञप्तिमार्फत विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको भए पनि त्यसलाई अपेक्षाकृत रूपमा अघि नबढाइएको उल्लेख गरेको छ ।

महासंघले फागुन २४ देखि चरणबद्ध आन्दोलन गर्दै आएको छ। दोस्रो चरणअन्तर्गत विभिन्न संघर्षका कार्यक्रम अगाडि बढाइएको छ । यसअन्तर्गत राजनीतिक दल बीच धर्ना,अनशन बस्ने कार्यक्रमदेखि चैत २० गतेदेखि देशभरका शिक्षक तथा विद्यालय कर्मचारी काठमाडौँमा भेला भई सडक आन्दोलनमा उत्रने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्