प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी, एपीएफ र कर्णालीको विजयी सुरुआत

लुम्बिनी,फागुन २५ । आजबाट लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगीतामा आयोजक लुम्बिनीसहित एपीएफ र कर्णाली प्रदेशले विजयी सुरुआत गरेका छन् ।
पहिलो दिन आज सिद्धार्थ रंगशालामा भएको खेलमा कोशी प्रदेशविरुद्ध लुम्बिनी प्रदेशले शानदार जित निकाल्यो । कोशीविरुद्ध लुम्बिनीले २६ रनको जित निकाल्दै विजयी सुरुआत गरेको हो । लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछ्याएको कोशी ४३ ओभरमा १८२ रनमा अलआउट भयो ।
यता एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा बागमती प्रदेशविरुद्ध विभागीय टि एपीएफ क्लबले जित निकाल्यो । एपीएफले बागमतीलाई १०० रनले पाखा लगायो । एपीएफले दिएको १७४ रनको लक्ष्य पछ्याएको बागती ७४ रनमा समेटिएपछि एपीएफले विशाल जित निकालेको हो ।
आजै लमही क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले अर्को बलियो टिम सुदूरपश्चिम प्रदेशलाई पाखा लगाउँदै विजयी सुरुआत गरेको छ । कर्णालीले दिएको १५६ रनको चुनौती पछ्याएको सुदूर ७६ रनमा अलआउट हुँदा कर्णालीले ७९ रनको जित निकाल्यो ।
प्रतियोगिताको दोस्रो दिन भोलि पनि तीन खेल हुनेछ । दोस्रो दिन सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।
क्यानका अनुसार चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेल हुनेछन्। जसमध्ये सिद्धार्थ रंगशालामा १७, एक्स्ट्राटेक मैदानमा १५ तथा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १४ खेल हुनेछन्। फाइनल खेल भने सिद्धार्थ रंगशालामा हुने जनाइएको छ।
प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ गरी १० टिम सहभागी छन्। खेल तालिकाअनुसार प्रत्येक टोलीले एक अर्का टिमसँग प्रतिस्पर्धा गर्नेछन्।