अबको शिक्षक आन्दोनः दलको कार्यालयमा धर्ना, अनशन हुँदै निरन्तर सडक संघर्षसम्म



काठमाडौ,फागुन २५ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले आफूहरुसँग विगतमा भएको सहमति कार्यान्वयन गर्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने आफूहरुको माग रहेको बताएका छन् ।

आइतबार एक रेडियो कार्यक्रममा बोल्दै उनले संविधान आएको १० वर्ष भइसक्दा पनि ऐन जारी नहुनु दुर्भाग्यपूर्ण रहेको बताए । पेशाकर्मीले नै ऐन ल्याइदेउ भनेर आन्दोलन गर्नुपर्ने अवस्था आउनु राम्रो नरहेको उनले बताए । अध्यक्ष सुवेदीले विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारीको हितका लागि ऐन अनिवार्य रहेको र त्यो ऐन तत्काल जारी हुनुपर्ने आफूहरुको एक शुत्रीय माग रहेको बताए । ‘विगतमा हामीले पटक–पटक आन्दोलन गरेका थियौं र राज्यसँग हाम्रो सहमति भएका छन् । ती सहमतिहरु सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन चाँडो जारी गर्नुपर्यो भनेर अहिलेको आन्दोलन हो,’– उनले भने ।

राज्यले विगतमा भएका सहमति कार्यान्वयन नगरेर, शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालयको पक्षमा काम नगर्दिँदा चाहना नहुँदा नहुँदै पनि आफूहरु सडक आन्दोलनको बाटो रोज्न बाध्य भएको उनले सुनाए । ‘जबरजस्ती हामीलाई राज्यले सडकमा उतारिराखेको छ । हामी त सडकमा आउन चाहँदैन थियौं,’– उनले भने ।

विद्यार्थीको पढाइलाई असर नपर्ने गरी हिजो पहिलो चरणको आन्दोलन पूरा भएको बताउँदै उनले अब राजनीतिक दलको कार्यालयहरुमा धर्ना, अनशन र एसईई परीक्षा सकिएपछि देशभरीका सबै शिक्षक कर्मचारीलाई काठमाडौं उतारेर निरन्तर सडक आन्दोलन गरिने उनले बताए । आफूहरु विद्यार्थीप्रति जिम्मेवार रहेको बताउँदै उनले भने, ‘एसईई परीक्षा सकिएपछि देशभरीका शिक्षक कर्मचारीलाई काठमाडौं ल्याएर हामी विद्यालय शिक्षा ऐन जारी नभएसम्म निरन्तर काठमाडौं केन्द्रीत सडक आन्दोलन गर्छौं ।

प्रतिक्रिया दिनुहोस्