सुरु भयो मुस्ताङ–काठमाडौँ रात्रिकालीन बस सेवा

मुस्ताङ,फागुन २३ । मुस्ताङ–काठमाडौँ रात्रिकालीन ‘डिलक्स एसी’ बस सेवा सञ्चालनमा आएको छ । मुस्ताङ-मुक्तिनाथ सेवा प्रालिले शुक्रबारदेखि मुस्ताङ भ्रमण गर्ने पर्यटक तथा स्थानीय नागरिकका लागि मुक्तिनाथदेखि काठमाडौँका लागि उक्त बस सेवा सञ्चालनमा ल्याएको हो ।
मुस्ताङ मुक्तिनाथ प्रालिले यसअघि डिलक्स बस, जिप र इलेक्ट्रोनिक भ्यान (इभी) सञ्चालनमा ल्याइसकेको छ । जाडो तथा गर्मीमा आरामदायी यात्रा गर्न सकिनेगरी सञ्चालनमा ल्याएको ‘डिलक्स एसी’ रात्रिकालीन बस सेवाको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले मुक्तिनाथमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरे ।
यात्रुमैत्री सेवा विस्तार भएमात्रै मुस्ताङको धार्मिक पर्यटनमा योगदान पुग्ने उनले बताए । यातायात व्यवसायीले समयसापेक्ष आफूलाई रुपान्तरित गर्नुपर्नेमा प्रजिअ भुसालले जोड दिए ।
बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उपाध्यक्ष क्रमशः डिकी गुरुङ र जमुना थकालीले एसी बस सेवा विस्तारले मात्रै नभएर यात्रुमैत्री सेवामासमेत ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।
मुस्ताङ–मुक्तिनाथ यातायात प्रालिले आगामी चैत १ गतेदेखि लोमान्थाङ–कोरलासम्म यातायात सेवा सञ्चालन गर्ने तयारी गरेको प्रालिका अध्यक्ष विनोद विसीले जानकारी दिए । यो सँगै एसी बस सेवामा यात्रा गर्ने यात्रुले दुई हजार चार सय रुपैयाँमा मुस्ताङ-काठमाडौँ यात्रा गर्न पाउने भएका छन् ।