केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्रलाई



काठमाडौ,फागुन १९ । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि मच्छिन्द्र फुटबल क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा अघिल्ला दुवै संस्करणको उपाधि जितेको मच्छिन्द्रले यसपटक विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २-० ले जितेको हो । लगातार तीन पटक उपाधि जितेर मच्छिन्द्रले ह्याट्रिक गरेको छ ।

मच्छिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९ औं मिनेटमा बिमल पाण्डेबाट आत्मघाती गोल हुँदा मच्छिन्द्रले अग्रता लिएको थियो । दोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले गोल गरेपछि मच्छिन्द्रले २-० को अग्रता लियो । त्यसपछि थप गोल भएनन् र मच्छिन्द्रले उपाधि रक्षा गर्‍यो । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेतालाई १५ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख रुपैँया पुरस्कारको व्यवस्था रहेको छ ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाएका छन । प्रतियोगिताको फाइनलमा प्रमुख अतिथिका रुपमा इटालीको राष्ट्रिय टोलीका पूर्वकप्तान एवन् विश्व चर्चित गोलरक्षक जियान लुइजी बुफन दशरथ रङ्गशालामा उपस्थित भएका छन् । प्रधानमन्त्री केपी ओली पनि रंगशालामै गएर प्रतियोगिता हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्