ट्रम्प-वेन्ससँग बहस भएपछि खनिज सम्झौता नगरेरै ह्वाइट हाउसबाट निस्किए जेलन्स्की

वासिङ्टन डिसी (अमेरिका),फागुन १८ । खनिज सम्झौताका लागि अमेरिका पुगेका युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीको अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा शुक्रवार राति भेटवार्ताका क्रममा बहस भएको छ ।
खनिज सम्झौता हुनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पसहित उपराष्ट्रपति जेडी वेन्स र युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीच भएको बैठकमा दुवै पक्षबीच बहस भएको हो । ४५ मिनेट भएको बैठकमा अन्तिम १० मिनेट दुवै पक्षबीच बहस भएको थियो ।
यसरी शुरु भयो बहस
बैठकमा कुराकानीका क्रममा जेलेन्स्कीले आफ्नो सुरक्षाको ग्यारेन्टी मागे । उनले रुसले कूटनीतिक प्रतिबद्धता तोडेको उदाहरण दिँदै उसको कूटनीतिक प्रतिबद्धताप्रति शंका व्यक्त गरे ।
प्रत्युत्तरमा ट्रम्पले जेलेन्स्कीलाई यसरी काम गर्न निकै कठिन हुने बताए । लगत्तै अमेरिकी उपराष्ट्रपति जेडी वेन्सले ओभल अफिसमा अमेरिकी मिडियासामु यो विषयमा कुरा गर्नु अपमानजनक रहेको प्रतिक्रिया दिए ।
उपराष्ट्रपति वेन्सको जवाफप्रति जेलेन्स्की आक्रोशित भए । उनले भने, ‘युक्रेनको समस्या देख्न के तपाईं त्यहाँ जानुभएको छ ? यो (रसिया र युक्रेन) युद्धको असर अमेरिकामा पनि पर्नेछ ।’
जेलेन्स्कीको भनाइप्रति ट्रम्पले पनि आक्रोश पोखे । र, भने, ‘हामीले के महसुस गर्नुपर्छ भनेर नसिकाउनुस् । तपाईं हामीलाई यस्तो सिकाउने अवस्थामा हुनुहुन्न । हामी धेरै बलियो तथा आत्मविश्वासले भरिएका छौं ।’
बहसपछि जेलेन्स्की बैठक छाडेर गए । ट्रम्पले जेलेन्स्कीलाई बैठक छाडेर जान भनेपछि उनी त्यहाँबाट बाहिर निस्किएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यससँगै अमेरिका र युक्रेनबीच हुने भनिएको खनिज सम्झौता रोकिएको छ । उक्त सम्झौता तत्काल नहुने देखिएको छ ।
यसअघि गत बुधवार युक्रेनका प्रधानमन्त्री डेनिस शमिहालले अमेरिकासँग खनिज पदार्थसम्बन्धी सम्झौता गर्ने सहमति भएको बताएका थिए ।
दुवै देशबीच शुक्रवार सम्झौता हुने बताइएको थियो । त्यसका लागि राष्ट्रपति जेलेन्स्की नेतृत्वको टोली अमेरिका गएको थियो । एजेन्सीको सहयोगमा