राधिकाको आत्मकथा ‘करुणा’ सत्य लिखतमा आधारित छ : प्रधानमन्त्री

काठमाडौ,फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तक सत्य लिखतमा आधारित पुस्तक भएको बताएका छन् ।
पाणिनि बुक्सद्वारा प्रकाशित सो पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुराहरू नभएको बताए ।
“हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म कुरा ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ । यसको सत्यताका कसैले चुनौती दिन सक्दैन ।’’, प्रधानमन्त्री ओलीले भने, “मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन । त्यो सबै राधिकाको कमाइ र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ । मेरो त सानो हुँदा आफूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।’’
प्रधानमन्त्री ओलीले आफ्नो एक मानोको बन्दोबस्त मात्रै भएको, देश र जनताको अधिकारका लागि ज्यानको प्रवाह नगरी हिँडेको आफू जस्तो मान्छेका बारेमा आर्थिक विषयमा अनेक अफवाह फैलाइएको टिप्पणी गर्दै मुलुकको लोकतान्त्रिक गणतन्त्रको प्राप्तिलाई आफूले सफलता मानेको बताए ।