त्रिशूली अस्पतालमा विशेष सेवा: बिरामीले रिपोर्ट आफैं प्रिन्ट गर्न सक्ने



नुवाकोट,फागुन ३ । बिरामीहरूको सुविधाका लागि नुवाकोटको त्रिशूली अस्पतालमा विशेष सेवा सञ्चालन गरिएको छ। यसबाट बिरामीहरू लाभान्वित भएका छन्।

अस्पतालमा बिरामीले रिपोर्ट आफैं प्रिन्ट गर्ने सकिने उपकरण जडान गरिएको छ। विदुर नपा ९ कोलोनीमा रहेको त्रिशूली अस्पतालमा बिरामीले आफ्नो रिपोर्ट आफैं प्रिन्ट गरी लिन सक्ने व्यवस्था गरिएको हो। बिरामीले प्रयोगशालाको बिलमा भएको बारकोड मेसिनमा राखेर रिपोर्ट हेर्न र प्रिन्ट गर्न सकिने भएको छ। अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार उक्त सुविधाले प्रयोगशाला रिपोर्ट लिने ठाउँमा बिरामीको चाप घट्ने र बिरामीको समयको बचत हुने छ।

अस्पतालमा सामाजिक इकाई सेवाबाट प्राप्त गरेका बिरामीको पूर्ण विवरण र दैनिक रूपमा सेवाग्राहीको तथ्यांक डिजिटल बोर्डमा हेर्न सकिने व्यवस्था गरिएको उनले जानकारी दिए। विशेष शल्यक्रिया सेवा समेत उपलब्ध भइरहेकाले बिरामीलाई काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य र आर्थिक रुपमा समेत सहुलियत हुने अस्पतालका निर्देशक डा.लामाको भनाइ छ।

हाल ‘बारकोड नम्बर’ राखी रिपोर्ट प्रिन्ट गर्न मिल्ने मेसिनबाट बिरामीले प्रयोग गर्न सक्ने त्रिशूली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए। अस्पतालबाट प्रदान गरिने सेवाहरूमा प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले विस्तारित अस्पताल फार्मेसी र ल्याब रिपोर्ट अटो प्रिन्टर मेसिनको प्रमुख अतिथि विदुर नगरपालिका मेयर राजन श्रेष्ठले गरेका हुन्।

उनले यसबाट बिरामीहरूलाई उपचारमा सहज हुनुका साथै आधुनिकताका कारण निकै सुविधा पुगेको बताए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, बागमती प्रदेश सीटीइभीटीका निर्देशक डा. शान्ति लामा लगायतले प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सक्षम हुँदै गएको बताए। तीन तल्ले आधुनिक पक्की भवनमार्फत त्रिशूली अस्पतालले बिरामीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

त्रिशूली अस्पतालमा नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगबाट सर्वसाधारण उपचारका लागि आउने गरेकोमा आकस्मिक रुपमा दैनिक एक सय तथा बहिरंगतर्फ तीन सय जनाले उपचार सेवा लिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्