एचपिभी खोप अभियान: अभिनेत्री कोइरालालाई सद्भावना दूत घोषणा



काठमाडौ,माघ १६ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय खोप कार्यक्रम तथा एचपिभी खोप अभियानका लागि वरिष्ठ अभिनेत्री एवं समाजसेवी मनिषा कोइरालालाई सद्भावना दूत घोषणा गरेको छ । मन्त्रालयले बुधबार यहाँ एक कार्यक्रम आयोजना गरी उनलाई सद्भावना दूत घोषणा गरेको हो ।

कार्यक्रममा अभिनेत्री कोइरालाले आफू क्यान्सरबाट पीडित भएर निको भएको बताउँदै निरोधात्मक पूर्वतयारी गरे पाठेघरको मुखको क्यान्सरबाट हुने जोखिमबाट बच्न सकिने उल्लेख गरिन । 

खोपको प्रोत्साहन गर्ने सामाजिक काममा सहभागी हुन पाउँदा गर्व महसुस भएको बताउँदै उनले यस अभियानमा सबैलाई हातेमालो गरेर अघि बढ्न आग्रह गरिन ।

सङ्घीय सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान यही माघ २२ गतेदेखि सुरु गर्दैछ । आगामी फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने यस अभियानअन्तर्गत १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई एचपिभी खोप लगाइँदै छ ।

एचपिभी खोप लगाएमा पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित हुन सकिने र खोप प्रारम्भिक किशोर अवस्थामा लगाएमा प्रभावकारी हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस सन्दर्भमा प्रारम्भिक किशोरावस्था भन्नाले १० देखि १४ वर्षको उमेरलाई बुझाउँछ ।

प्रतिक्रिया दिनुहोस्