नुवाकोट काङ्ग्रेस महत र केसीको इशारामा चल्छ- काङ्ग्रेस नेता गुरुङ
नुवाकोट,माघ १६ । नेपाली काङ्ग्रेसका युवा नेता तथा तरुण दलका केन्द्रिय सदस्य सन्जिव गुरुङले नुवाकोटमा नेपाली काङ्ग्रेस महत र केसीको इशारामा चल्ने बताएका छन् ।
नेता गुरुङले बुधबार सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन् – ‘नेपाली काङ्ग्रेस नीतिमा चल्छ, विधिमा चल्छ तर नुवाकोटमा नेपाली काङ्ग्रेस महत र केसीको इशारामा चल्छ।’
युवा जमात माझ लोकप्रिय नेता गुरुङले नुवाकोटका काङ्ग्रेस अगुवाले पार्टी कार्यकर्तालाई घरको दास रुपमा लिने गरेको बताएका छन् । उनले यस्ता कुटिल परम्पराले ग्रसित नेताले गर्दा नुवाकोट काङ्ग्रेस र बीपीको विचारप्रति आस्थावान कार्यकर्तामा चरम निराश देखिएको टिप्पणी समेत गरेका छन् ।
नेता गुरुङले केहि दिन अगाडि लिखु गाउँपालिकामा भएको काङ्ग्रेस भेलामा देखिएको दुई पक्ष बीचको तछाडमछाडलाई उल्लेख गर्दै नुवाकोट काङ्ग्रेस समाप्तिको बाटोमा लागेको बताएका छन् । उनि भन्छन् – ‘यसरी नै दुई घरका धारले संगठनमा उथलपुथल ल्याइरहने हो भने केही समयपछि नेपाली काङ्ग्रेस नुवाकोट पलायनको बाटोमा जानेछ। यो ठूलो चिन्ताको विषय हो।’
उनले युवा वर्गलाई सचेत रहन सुझाएका छन् । ‘युवा जमात समयमै सजग नभए अवसरको खोजीमा रहेका अवसरवादी झुण्डहरूले पार्टीमा सधैँ जरा गाडिरहने र आस्थावान कार्यकर्ताहरू भने सधैँ पछि परिरहनेछ’ उनले भनेका छन् ।