मोट्रेक्सले अब नेपालमा गाडी उत्पादन नगर्ने



काठमाडौं,माघ १६ । अनुमानित ८ अर्ब ३ करोड रुपैयाँ लगानीमा एसेम्बल प्लान्ट खोलेर नेपालमा चारपांग्रे सवारीसाधन उत्पादन गर्ने प्रारम्भिक सम्झौता गरेको दक्षिण कोरियाली अटोमेकर मोट्रेक्स नेपालबाट बाहिरिने भएको छ । 

सन् २०१९ डिसेम्बर ११ मा लगानी बोर्ड नेपालसँग परियोजना लगानी सम्झौता (पीआईए) गरेको उक्त कम्पनी ५ वर्षपछि नेपालमा लगानी नगर्ने निचोडमा पुगेको हो । शुरूमा इन्धनमा आधारित चारपांग्रे गाडी उत्पादन गर्ने र सन् २०३० भित्र विद्युतीय चारपांग्रे (ईभी) एसेम्बल गर्ने गरी मोट्रेक्सले बोर्डसँग प्रारम्भिक सम्झौता गरेको थियो । पछि सरकारले ईभी उत्पादन वा एसेम्बल गर्न प्रोत्साहन गर्ने नीति लिएपछि मोट्रेक्सले अन्त:शुल्क र भन्सारमा छूट मागेको थियो । यी दुवै सुविधा दिन सहमति नजुटेपछि उक्त कम्पनी बाहिरिन लागेको हो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले मोट्रेक्स नेपालबाट बाहिरिने प्रक्रियामा रहेको जानकारी दिएका छन् ।

‘अहिले मैले त्यो कम्पनीका प्रतिनिधिसँग कुरा गरेको छु,’ ज्ञवालीले भने, ‘उनीहरूले अब नेपालमा प्लान्ट नलगाउने मौखिक जानकारी गराएका छन् । उनीहरूले नेपालमा लगानी गर्ने योजनाको सूचीबाट छिट्टै बाहिर आउने अवस्था भएको प्रतिक्रिया दिएका छन् ।’ 

नेपालमा हुन्डाई र किया गाडी उत्पादन तथा एसेम्बलिङ गर्ने भनेर पत्रसहित लगानीका लागि प्रारम्भिक सम्झौता गरेको मोट्रेक्सले भन्सार र अन्त:शुल्कमा छूट नपाएका बेला हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी ग्रूपले नेपालमै हुन्डाई ब्रान्डका चारपांग्रे एसेम्बलिङ प्लान्ट सञ्चालनमा ल्याएपछि बाहिरिने निष्कर्षमा पुगेको हो । 

लक्ष्मी ग्रूपको सहायक कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले गत वैशाखदेखि हुन्डाईका गाडी एसेम्बल शुरू गरिसकेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको एसेम्बल प्लान्ट नवलपरासीमा छ । मोट्रेक्सले आफ्ना ग्राहक (क्लाइन्ट)हरू किया र हुन्डाईसँग मिलेर ती दुई ब्रान्डका चारपांग्रे सवारीसाधन नेपालमा एसेम्बल गर्न खोजेको थियो । ‘अहिले लक्ष्मीले हुन्डाईको एसेम्बल शुरू गरिसकेकाले अब यो योजना सान्दर्भिक भएन होला,’ ज्ञवालीले भने, ‘अहिले विद्युतीय सवारीसाधनमा ठूलो लगानी भएको छ र प्रयोग पनि बढ्दो छ ।

मोट्रेक्सले भारतमा प्लान्ट राखेको छ । यसले गर्दा अहिले हामी यो परियोजनालाई अघि बढाउँदैनौं भन्ने कुरा मोट्रेक्सबाट आएको छ । मोट्रेक्सले परियोजनामा काम नगर्ने लिखित कागजात छिट्टै दिनेछ ।’ मोट्रेक्सले शुरूमा हुन्डाई र कियाको गाडी एसेम्बल गर्ने पत्र ल्याएको बोर्डका अधिकारी बताउँछन् ।

यो सम्झौता हुने बेलाको तुलनामा अहिले विद्युतीय सवारीसाधन उद्योगमा निकै ठूलो परिवर्तन देखिएको उनको भनाइ छ । मोट्रेक्स नेपालमा लगानी गर्ने सम्झौता गर्दा हुन्डाईको प्रविधिमा आधारित भएर गर्ने भन्ने योजनामा थियो । अब नयाँ प्रविधिमा आउन सकिन्छ कि अथवा नेपालमा नआउने भन्ने विषय छिट्टै जानकारी गराउने भनेको उनको भनाइ छ । 

बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी र मोट्रेक्सका सीईओ ली ह्युङवानबीच सन् २०१९ डिसेम्बर ११ मा प्रारम्भिक सम्झौता भएको थियो । नेपालमा चारपांग्रे सवारी साधन एसेम्बल गर्ने प्लान्टमा लगानी गर्न प्रारम्भिक सम्झौता भएको थियो । दुवै निकायका अधिकारीले परियोजना लगानी सम्झौता (पीआईए)मा हस्ताक्षर गरेका थिए । बोर्डको ३५औं बैठकले नेपालमा प्यासेन्जर र कमर्सियल भेहिकल उत्पादन गर्ने गरी प्रारम्भिक सम्झौता भएको थियो । त्यसबेला कम्पनीको १० दशमलव ५४ मिलियन अमेरिकी डलर लगानी बोर्डले अनुमोदन गरेको थियो । 

कम्पनीले सञ्चालनको पहिलो वर्षमा ५ हजार ८२० युनिट उत्पादन गर्ने र पछि उत्पादन क्षमता बढाउँदै प्रतिवर्ष ५० हजार युनिट चारपांग्रे सवारीसाधन उत्पादन गर्ने प्रस्ताव गरेको थियो । उत्पादन तथा एसेम्बली प्लान्ट स्थापनाले घरेलु बजारमा माग सृजना गर्ने र वैदेशिक व्यापारमा भएको असन्तुलनलाई कम गर्ने अपेक्षा थियो । उक्त कम्पनीले उत्पादन तथा एसेम्बली प्लान्ट राख्न लुम्बिनी प्रदेशको रूपन्देहीस्थित मोतिपुर औद्योगिक क्षेत्र प्रस्ताव गरेको थियो । मोट्रेक्सले लामो समयसम्म लगानी ल्याउन नसकेपछि लगानी बोर्डको सन् २०२२ जुन ६ मा बसेको बैठकले उक्त कम्पनीसँग वार्ता प्रक्रिया सुचारु गर्ने निर्णय गरेको थियो । 

बोर्डका अनुसार मोट्रेक्सले अन्तिम वार्ता (नेगोसिएशन)मा ७० प्रतिशत भन्सार महशुल र ८० प्रतिशत अन्त:शुल्क छूट मागेको थियो । आफूले मागेको उक्त सुविधाको विषय नटुंगिएपछि मोट्रेक्सले नेपालबाट बाहिरिने निर्णय लिएको हो । बोर्डसँग प्रारम्भिक पीआईए हुँदाका बखत उक्त कम्पनीले शुरूमा इन्धनमा आधारित र सन् २०३० सम्ममा विद्युतीय चारपांग्रे उत्पादन गर्ने प्रस्ताव राखेको थियो ।

पछि सरकारले ईभी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिएपछि मोट्रेक्ससँग भएका शर्त तथा नियमहरू परिवर्तन गरिएका थिए । मोट्रेक्ससँग भएका सम्झौता संशोधन हुँदा उसले भन्सार महशुलमा ७० प्रतिशत र अन्त:शुल्कमा ८० प्रतिशत छूट मागेको थियो । यी दुवै सुविधाका लागि भएको वार्ता निष्कर्षमा नपुग्दा मोट्रेक्स बाहिरिने ‘मुड’मा रहेको बोर्डका एकअर्का अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्