वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै एक करोड २१ लाख ठगी, ४ जना पक्राउ
काठमाडौं,माघ १५ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सल्यान छत्रेश्वरी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने २४ वर्षीया विशाखा पौडेल रहेका छन् ।
उनीहरूले विभिन्न पीडितबाट एक करोड २१ लाख ५५ हजार ठगि गरेको पाइएको प्रहरीले जनाएको छ । सुरेन्द्र विकले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९७ लाख ५४ हजार रूपैयाँ ठगी गरेका थिए । सुनिल दसौदीले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट २२ लाख ३८ हजार रूपैयाँ ठगी गरेर फरार भएका थिए ।
विकाश दवाडीले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र विशाखा पौडेल ले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये सुनिल, विकाश र विशाखालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।