नुवाकोटको पञ्चकन्यामा ५१० जनालाई पाठेघर मुखको क्यान्सर विरुद्ध खोप लगाइने



नुवाकोट,माघ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाका ५१० जना किशोरीलाई (पाठेघरको मुखको क्यान्सर विरुद्ध) एच.पि.भी. खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एच.पि.भी. खोप अभियान माघ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने पञ्चकन्या गाउँपालिकाका स्वास्थ्य शाखा फोकल पर्सन नारायण थापाले बताए ।

उक्त खोप ६ देखि १० कक्षासम्मका र विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाउने जनाएको छ । स्वास्थ्य फोकल पर्सन थापाले ६ देखि १० कक्षाका विद्यालयमा भएका ५१० जना किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको बताए । पालिकामा १० देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिरका किशोरी भने नरहेको उनले  बताए ।

महिलाको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्ध लगाइने उक्त खोप कार्यक्रममा लक्षित समुहका किशोरी नछुटुन भन्ने उद्धेश्यले केन्द्रदेखि वडा तहसम्म खोप समन्वय समिति बनाएर तयारीमा जुटेको उनले जानकारी दिए । उक्त खोप अभियानलाई सफल बनाउन पञ्चकन्या गाउँपालिका खोप समन्वय समितिले अभिमुखीकरण कार्यक्रमको आयोजना गरी खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सरोकारवाला सबैलाई आव्हान गरेको छ ।

पञ्चकन्यामा खोपका लागि २५ वटा स्वास्थ्य खोप केन्द्र निर्धारण गरिएको छ । जस अन्तर्गत वडा नम्बर १ मा ४ वटा खोप केन्द्र, २ मा ५ वटा, ३ मा ६ वटा, ४ मा ५ वटा र ५ मा ५ वटा खोप केन्द्र तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्