सोनाम ल्होछारमा नुवाकोटको पञ्चकन्या गाउँपालिकाले २ दिन बिदा दिने



नुवाकोट,माघ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा हरेक माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्वको अवसरमा यही माघ १७ र १८ गते दुई दिन सार्वजनिक बिदा दिने पालिकाले निर्णय गरेको हो ।

मञ्जुश्री संवत् २८६१ डुल लो-सर्व वर्ष ल्हो सोनाम ल्होछारको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि कडेलले सोमबार एक शुभकामना सन्देश जारी गर्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । 

माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा पालिकाका अध्यक्ष तेजबहादुर तामाङले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुस्वास्थ्य, दीर्घायु, सुख र समृद्धिको कामना गरेका छन् । साथै तीन दिनसम्म गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्था बन्द रहने उनले जनाएका छन् । उनले पालिकामा तामाङ बाहुल्य रहेकोले पर्व खुशियालीपूवर्क मनाउन दुई दिन बिदा दिएको बताए ।

उनले यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने  अपेक्षा सहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ् बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने आफ्ना शुभकामना सन्देशमा उल्लेख गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्