शुभ समृद्धि सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा दायर, आरोपी सबै फरार
काठमाडौं,माघ १४ । ललितपुरमा रहेको शुभ समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालकहरूविरुद्ध जिल्ला अदालत ललितपुरमा अभियोगपत्र दर्ता भएको छ ।
प्रहरी अनुसन्धानमा सहकारीमार्फत ५ करोड १८ लाख १६ हजार १९० रुपैयाँ ठगी गरेको आरोपसहित मुद्दा दर्ता भएपछि सञ्चालकहरू सबै फरार भएका छन् । अदालतमा दायर अभियोगपत्रमा उनीहरू सबैलाई फरार अभियुक्त बनाइएको छ ।
आकर्षक ब्याजको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम संकलन गरि अपचलन गरेको उजुरी परेपछि जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान अघि बढाएको थियो। प्रहरी प्रतिवेदनका आधारमा १० माघमा ललितपुर जिल्ला अदालतमा सहकारीका अध्यक्षदेखि अन्य सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ ।
अभियुक्तहरुमा अध्यक्ष निरबहादुर श्रेष्ठ, उपाध्यक्ष सञ्जय निरौला, सचिव सुमन कार्की, कोषाध्यक्ष रेशमलाल भट्टराई, र सञ्चालक सदस्यहरू विकास शिवाकोटी, भावना तिमल्सिना, केदारबाबु कटुवाल, विवश मिधुन मगर, प्रेमबहादुर बस्नेत, र शर्मिला शाक्य रहेका छन्।